काठमाडौं । नेपालमा हालैको राजनीतिक परिवर्तनलाई लिएर एक रिपोर्ट सार्वजनिक भएको छ । कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) नामक अमेरिकी संस्थाले जेनजी आन्दोलनयताको राजनीतिक गतिविधिको विश्लेषण सहित रिपोर्ट सार्वजनिक गरेको हो ।
रिपोर्टले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको सम्बन्ध स्वार्थ केन्द्रित रहेको शंसय व्यक्त भएको छ ।
सीआरएस अमेरिकी संसदको अनुसन्धान सेवा हो । यसले कंग्रेसका समितिहरू र कंग्रेसका सदस्यहरूलाई निष्पक्ष एवं साझा संस्थाको रूपमा सेवा प्रदान गर्दछ । यो पूर्ण रूपमा कंग्रेसको निर्देशन र आदेशअनुसार मात्र सञ्चालन हुन्छ । नेपाल सम्बन्धी यो रिपोर्ट लेखक एसिया नीति सम्बन्धी विश्लेषक मारिया ए ब्ल्याउडले तयार पारेकी हुन् ।
नेपाललाई दक्षिण एसियामा भारत र चीनबीच अवस्थित एक निम्न मध्यम आय भएको देशका रुपमा रिपोर्टमा चित्रित गरिएको छ । युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको ६ महिनापछि भएको संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णायक जित हासिल गरेको रिपोर्टमा उल्लेख छ ।
जेनजी आन्दोलनको पृष्ठभूमिबारे रिपोर्टमा भनिएको छ, ‘२०२५ सेप्टेम्बर ४ मा नेपाल सरकारले सामाजिक सञ्जाल नियमन गर्ने नयाँ कानुनको पालन नगरेको भन्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई रोक लगायो । यस कदमले सेप्टेम्बर ८ मा ठूलो स्तरको प्रदर्शन निम्त्यायो, जसमा दशौं हजार प्रदर्शनकारीहरू– मुख्य रूपमा युवाहरू काठमाडौंमा भेला भए । प्रदर्शनहरूले प्रमुख राजनीतिक दलहरूप्रतिको व्यापक असन्तुष्टिलाई छोयो ।’
रिपोर्टमा सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनाएको र यसले आमचुनाव गराएको उल्लेख गरिएको छ । चुनावमा मेयर बालेन्द्र साह र रास्वपाबीच सहकार्य भएको भन्दै यो सहकार्यलाई कतिपय पर्यवेक्षकले स्वार्थप्रेरित गठजोड भनेको रिपोर्टमा उल्लेख छ ।
‘काठमाडौंको मेयरको रूपमा स्वतन्त्र रहेका शाहले आरएसपीको तर्फबाट उम्मेदवारी दिए, जसलाई केही पर्यवेक्षकहरूले ‘स्वार्थप्रेरित गठजोड’ भनेका थिए,’ प्रतिवेदनमा भनिएको छ ।
रास्वाले चुनावमा पुराना राजनीतिक शक्तिहरूलाई निकै पछाडि पार्दै बहुमत ल्याएको र धेरै वरिष्ठ राजनीतिज्ञहरु रास्वपाका उम्मेदवारसँग् पराजित भएको प्रतिवेदनमा भनिएको छ ।
‘मार्चको निर्वाचनले मतदाताहरूमा परिवर्तनको स्पष्ट चाहना देखायो, जसले शाह र आरएसपीका लागि अवसरहरू साथै सम्भावित चुनौतीहरू दुवै प्रस्तुत गरेको छ,’ रिपोर्टमा लेखिएको छ, ‘शाह स्थापित–विरोधी व्यक्तित्व र सुधारकको रूपमा लोकप्रिय बनेका थिए, तर मेयरको रूपमा उनको शासन रेकर्डलाई केही विश्लेषकहरूले मिश्रित भनेका छन् । केहीले शाह ‘कसरी शासन गर्ने भन्ने विषयमा विशिष्ट योजनाहरूमा कमजोर’ रहेको टिप्पणी गरेका छन् । शाहले मुख्य रूपमा फेसबुक पोस्टहरू मार्फत सञ्चार गर्छन्, परम्परागत मिडियासँग सक्रिय संलग्नता नदेखाई ।’
जनवादी गणतन्त्र चीन सरकारले नेपाल सरकारलाई नेपालमा तिब्बतीहरूको स्वतन्त्र भेला र अभिव्यक्तिलाई प्रतिबन्ध लगाउन दबाब दिएको समेत प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया