कांग्रेसको आधिकारिकता विवाद मुद्दा न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा


काठमाडौँ । नेपाली कांग्रेसका गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । निर्वाचन आयोगले गगन पक्षलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो। यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

२०८२ माघ ६ मा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितको नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो । निर्वाचन आयोग,नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेसँगै सुनुवाइका लागि पेसी तोकिएको थियो ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद भएको थियो ।

रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ ।