काठमाडौं, वैशाख ५ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलालाई न्यायपूर्ण भन्दै स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्चको निर्णयले पार्टीका सदस्यहरूले विधिको शासनका लागि गरेको लामो सङ्घर्षको सम्मान गरेको उनले बताएका छन् ।
फैसलापछि फेसबुकबाट आफ्नो प्रतिक्रिया दिँदै महामन्त्री घिमिरेले भनेका छन, ‘सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि परेको रिट निवेदन उपर सुनुवाइ पश्चात् गरेको आदेश न्यायपूर्ण छ।यो नेपाली कांग्रेसका सदस्यहरुले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल हो।यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गर्दै आन्तरिक लोकतन्त्रलाई सुनिश्चित गरेको छ।’
उनले यो निर्णयलाई कसैको व्यक्तिगत जित वा हारको रूपमा लिन नहुनेमा जोड दिदै पार्टीको १५ औँ महाधिवेशनलाई सफल बनाउन एकताबद्ध हुनुपर्ने जनाएका छन् । उनले लेखेका छन् ‘यो कसैको हार वा जित होइन। अब हामी नेपाली कांग्रेसका सबै साथीहरू एकताबद्ध भई पार्टीको १५ औँ महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ घिमिरेले भने, ‘विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर नेपाली कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्छ।’
शुक्रबार नै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको छ ।




प्रतिक्रिया