मठमन्दिर बनाउने भन्दापनि सम्पदाको संरक्षणमा लगानी बढाउनु पर्छ:पर्यटनमन्त्री श्रेष्ठ


काठमाडौँ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन समृद्धिको आधार’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले भएका सम्पदाको संरक्षणलाई प्राथमिकता दिन सके मात्रै सांस्कृतिक धरोहर जोगाउन सकिने बताए । संस्कृति र सम्पदा संरक्षणप्रति नवयुवा पुस्तामा चासो नहुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

‘अहिले आर्थिक वर्ष २०८२/८३ को बजेट हेर्दा हामीले धेरै मठमन्दिरहरू बनाइरहेका छौँ । तर हामीसँग भएका सम्पदाहरूको संरक्षणमा कम लगानी भएको मलाई चाहिँ महसुस भएको छ । हामीले बनाउनेभन्दा पनि भएको कुरालाई संरक्षण गर्न सक्यौँ भने राम्रो हुन्छ,’ उनले भने ‘काठमाडौँ उपत्यकाको ठाउँ ठाउँमा हामीसँग सम्पदा छन् । सम्पदा छन् तर हामीलाई ती सम्पदाको महत्त्व बुझिसकेका छैनौँ । अर्को कुरा यी सम्पदाहरूको संरक्षण गर्न सक्छौँ कि सक्दैनौँ भनेर मलाई चाहिँ एकदमै चिन्ता लागेको छ ।’