सर्वोच्चमा कर्मचारीको मनोमानीः विदा स्वीकृत नगराई अनुपस्थित रहनेदेखि विहान बेलुका हाजिर गर्न मात्रै आउनेसम्म


काठमाडौं, ५ वैशाख । सर्वोच्च अदालतमा कार्यरत कर्मचारीहरुले विदा स्वीकृत नगराई अनुपस्थित हुने, विहान बेलुका मात्रै हाजिर गर्न आउने र तोकिएको पोशाक नलगाउने जस्ता मनोमानी गरेको पाइएको छ । सर्वोच्चको अनुगमन महाशाखाले गत विहीबार गरेको आकस्मिक छड्के चेकजाँचको क्रममा विहान ९ बजेपछि मात्रै कार्यालय प्रवेश गर्ने ८२ जना, तोकिएको पोशाक नलगाउने २२ जना विदा स्वीकृत नगराई अनुपस्थित रहने ७० जना र कार्यकक्षमा नभेटिएका ९ जना कर्मचारी फेला परेका हुन् ।

कार्यकक्षमा नभेटिएका कर्मचारीहरु विहान बेलुका हाजिर मात्र गर्न आउने गरेको पनि अनुगमन महाशाखाले जनाएको छ । सर्वोच्चको अनुगमन महाशाखाले अनुगमनको क्रममा भेटिएको कैफियतको अभिलेख रहने र अब उप्रन्त विहान ९ः१५ पश्चात र बेलुकी ५ बजेअघि हाजिर मेसिनले हाजिर नलिने व्यवस्था मिलाइएको पनि बताएको छ ।