मन्त्रालयलाई टेरेनन् निगमका निर्देशक रिजालले,नियम विपरीत ‘सम्धी’ लाई एयरबसको तालीममा पठाउँदै


काठमाडौ । नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का निर्देशक क्याप्टेन सुवास रिजालले आफ्ना सम्धी रोशन कोइरालालाई नियम मिचेरै वैदेशिक तालिममा पठाउने भएको छ । एयरबस ए–३२० को तालिम २६ अप्रिल(१३ वैशाख) मा मलेसियामा हुँदैछ ।

केही सन्चारमाध्यममा प्रकाशित समाचार पछि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘एक्सन’ लिइएको भनिए पनि उनले आफ्नो सम्धीलाई पठाउने पक्का भएको स्रोतले बतायो ।

नयाँ सरकार आएपनी निगम भित्र नीतिगत भ्रष्टाचार र नातावाद नरोकिने निगमनिकट स्रोतको दावी छ ।

निर्देशक रिजालले एयरबस ए–३२० को तालिमका लागि मलेसियाको क्वालालम्पुरमा आफ्नै सम्धी कोइरालालाई पठाउन सबै तयारी पूरा गरिसकेको छ । ‘मन्त्रालयको ‘एक्सन’ पछी उनको ठाउँमा लामो समयदेखि स्वाभाविक रूपमा पालो पर्खिरहेका क्याप्टेन प्रचण्ड श्रेष्ठ तालिममा जाने भनिए पनि त्यसमा कुनै सत्यता छैन,’स्रोत भन्छ ।

निगमनिकट स्रोत भन्छ ‘कोइरालाको नियुक्ति र योग्यतामाथि नै गम्भीर प्रश्नहरू छन् । कोइरालाले ५८ वर्षे उमेर हद पार गरिसकेका छन् । उनको नियुक्ति निगमको हितमा देखिँदैन ।’

उनलाई क्याप्टेन सुवास रिजालकै भाइ एवं तत्कालीन निर्देशक क्याप्टेन श्रवण रिजालले करारमा नियुक्ति दिएका थिए ।

कोइरालालाई पास गराउन कम्प्युटर बेस्ड परीक्षालाई हटाएर ‘पेपर बेस्ड’ बनाइएको निगमकै केही कर्मचारीको आरोप छ । निर्देशकको कार्यालयबाटै प्रश्नपत्र उपलब्ध गराई कोइरालालाई १०० प्रतिशत अंक दिलाइएको स्रोतको दाबी छ ।

कोइरालामाथी धेरै प्रश्न उठिरहेको बेला उनलाई नै राज्यको खर्चमा तालिम लिन पठाउनुँभन्दा नियुक्ति नै खारेज गर्नुपर्ने माग समेत बढ्न थालेको छ ।