पार्टी फुटको संघारमा रहेको संकेत गर्दै देउवानिकट नेता महतले भने,‘गगनजी गम्भीर नभए दुर्भाग्यपूर्ण हुनसक्छ’


काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री प्रकाशशरण महतले कांग्रेस एमालेमा विचलन आएको कारण नै अन्य दल (राष्ट्रिय स्वतन्त्र पार्टी) स्थापित भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले कांग्रेस, एमालेमा विचलन ल्याउनका लागि ठूलो चलखेल भएको बताएका हुन् ।

‘कांग्रेस, एमालेमा विचलन नआइकन अर्को पार्टी स्थापित हुन गाह्रो छ भन्ने कुरा सबैलाई थाहा थियो । त्यसलाई मध्यनजर गरेर सबै पार्टीमा चलखेल भएकै हो । परिणामतः देखियो,’ उनले भने ।

साथै, उनले कांग्रेस फुट्ने भन्दा पनि जुट्नुपर्ने आफ्नो चाहना रहेको पनि बताए । तर, कांग्रेस यत्तिकै जुट्ने अवस्था भने आफूले नदेखेको उनले बताए । सबैलाई जोड्नका लागि पहल सभापति गगन थापाले पहल गर्नुपर्नेमा बाहिर प्रचारबाजी गरिरहेको उनले बताए । सभापति थापाबाट पहल नभएको खण्डमा दुर्भाग्य हुने उनले बताए ।

‘यसमा पहल गगनजी जो अहिले पार्टीको सभापति, अदालतले पनि मान्यता दिएको छ । उहाँले गम्भीर भएर, खाली बाहिर प्रचारबाजीको लागि मैले चाहेको थिएँ भन्ने किसिमबाट हुँदैन । त्यो भयो भने समझदारी जुट्न सक्छ । भएन भने दुर्भाग्यपूर्ण कुरा हो । पार्टी कमजोर हुन सक्छ । कमजोर अवस्थामा विचलन, निराशा, निष्कृयताको अवस्थामा र त्यसबाट अरुखाले उपक्रम पनि उत्पन्न हुनसक्छ,’ पार्टी विभाजनको संकेत गर्दै उनले भने ।