शेखर-शंशाकको निष्कर्ष:गगनलाई सभापति मान्ने,पार्टीको एकताकाे पक्षमा लाग्ने


काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालाले गगन थापालाई पार्टीको सभापति मान्न् तयार भएका छन् । शेखर-शंशाक निकट नेताहरूले आज शेखरको सम्पर्क कार्यालय विशालनगरमा छलफल गर्दै सर्वोच्च अदालतको फैसला स्वीकार गरेर पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ।

यद्यपि शेखर भने छलफलमा सहभागी थिएनन् । उनी विराटनगर रहेका कारण सहभागी नभएको र नेता शेखरसँग समन्वय गरी निवर्तमान उपसभापति धनराज गुरूङले छलफल राखेका थिए । उक्त छलफलमा पूर्वमहामन्त्री शशांक कोइरालासहित उनी पक्षका नेता तथा सांसदहरू पनि उपस्थित रहेको थियो।

छलफलमा पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलियालगायतका नेताहरुको सहभागी रहेको निवर्तमान उपसभापति धनराज गुरूङले जानकारी दिए ।

छलफलले गगन थापा नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने पनि निष्कर्ष निकालेको छ। गत पुसमा विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए। विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र शेखर तथा शशांक कोइराला पक्ष सहभागी भएको थिएन। सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिएको छ।

‘अदालतको फैसला स्वीकार गरिसकेपछि गगन थापा नेतृत्व अस्वीकार भन्ने कुरा रहेन नि१,’ गुरूङले भने, ‘हामी सबै पार्टीको बृहत्तर हितमा उभिने हो।’

उनले निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा आफूहरू सहभागी नहुने पनि बताए। हिजो खड्का निवासमा भएको छलफलमा पनि कोइराला पक्ष सहभागी भएको थिएन।