काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटाले प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच मतभिन्नता नरहेको प्रष्ट पारेकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग संक्षिप्त कुराकानी गर्दै उनले सभापति लामिछाने र पार्टीका वरिष्ठ नेताबीच मतभिन्नता सुरु भएको भनी आएका समाचारहरुमा कुनै सत्यता नरहेको बताएकी हुन् ।
‘उहाँहरु दुई जना एउटा कार्यकारी भूमिकामा हुनुहुन्छ, एक जनाले पार्टीको नेतृत्व गरिरहनुभएको छ । उहाँहरु दुई जना यति मज्जाले मिलेर काम गरिरहनुभएको छ । पटक पटक सभापतिले पनि प्रधानमन्त्रीले पनि के भन्नुभएको छ भने हामीले बोक्नुपर्ने मान्छे नेपाली नागरिक मात्र हो । हामीले बोक्नुपर्ने मान्छे अरु कोही पनि छैन । हामी बीचमा कुनै मतभिन्नता छैन भन्नुभएको छ’, उनले भनिन् ।
साथै, प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता पार्टीमा हाबी भएको र सभापति लामिछाने कमजोर हुँदै गएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताईन् । काम गर्ने ठाउँमा प्रधानमन्त्री शाह भएकाले उनी अली बढी चर्चामा आएको हो कि जस्तो देखिएको उनले बताईन् ।




प्रतिक्रिया