काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ। आज पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा उठेका सार्वजनिक प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ।
कांग्रेसले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता विषयमा तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।’
कांग्रेसले गृहमन्त्रीको पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै छानबिनलाई निष्पक्ष र प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्न सरकारलाई माग गरेको छ।
विवादास्पद व्यापारी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि गृहमन्त्री सुधन गुरुङको आलोचना भइरहेको छ ।





प्रतिक्रिया