सिरहा कारागारमा झडप,२३ जना कैदी प्रहरीकाे नियन्त्रणमा


सिरहा । सिरहा कारागारमा झडप भएको छ । कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन कब्जा गर्ने प्रयास गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उक्त घटनापछि थप झडप र असुरक्षाको अवस्था सिर्जना हुन सक्ने अनुमान गर्दै २३ जना कैदीहरुलाई नियन्त्रणमा लिई हाल प्रहरी हिरासतमा राखिएको उनले बताए ।

सिरहा कारागारमा यसअघि पनि पटक–पटक गुटबन्दी, कुटपिट र आन्तरिक झडपका घटना हुँदै आएका छन् ।

यसअघि माघ २६ गते गरिएको संयुक्त सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो । उक्त हतियार आन्तरिक प्रभाव जमाएका कैदी इन्द्रजित यादवसँग सम्बन्धित रहेको प्रहरीले जनाएको थियो । सोही अपरेशनमा यादवसहित १३ जनालाई नियन्त्रणमा लिई अन्य कारागारमा सारिएको थियो ।

इन्द्रजित यादव पक्राउ परेपछि कैदीबन्दीले दुई दिनसम्म विरोध प्रदर्शनसमेत गरेका थिए । पछिल्ला घटनाक्रमहरूले सिरहा कारागारको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाइरहेका छन् ।