सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा


राँझा (बाँके), ९ वैशाख । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ ।

विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्यहारेपछि आलु वा तोरीखेती लगाउने र त्यसलगत्तै वसन्ते मकैखेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

“सिँचाइको व्यवस्था भएसँगै तीन बाली खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ, आलु र वसन्ते मकैबाट किसानले नगद कमाई रहनुभएको छ”, उनले भने, “बर्खेधान स्यहारिसकेपछि गहुँखेती गर्ने किसान दुई बालीमा सीमित हुनुहुन्छ भने गहुँखेतीको सट्टा तोरी वा आलुखेती गर्ने किसानले मकैखेतीसमेत गर्न भ्याउनुभएको छ ।”

गहुँखेतीको तुलनामा तोरीखेती वा आलुखेती छिटो तयार हुने भएकाले त्यसलगत्तै मकैखेती समेत गर्न सकिने भएकाले तीन बाली खेती गर्न कृषि ज्ञान केन्द्रले समेत प्रोत्साहन गर्दै आएको अधिकृत पाठकले जानकारी दिए । बाँके जिल्लामा सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकैखेतीमा ज्ञान केन्द्रले बीउ तथा प्राविधिक सहयोग गरेर प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।

बाँकेमा बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँखेती २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५००, आलु तीन हजार २५०, तोरी छ हजार ५३०, हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ । सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि खेती गर्न किसानलाई सहज हुँदै आएको छ । सिक्टा सिँचाइको पानी नपुगेको क्षेत्रमा कृषि ज्ञान केन्द्रले सिँचाइका लागि ५० प्रतिशत अनुदानमा सहकारी र कृषक समूहलाई बोरिङ वितरण गरेको पाठकले बताए ।

किसानलाई सिँचाइको अभाव हुन नदिन खेती गर्ने समयमा सिक्टाले नहरमा पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा आव २०८२÷८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुर्याएर किसानको अनुहारमा खुसी छर्ने प्रयास गरेको छ ।

सिँचाइको नियमित सुविधा हुनसके बाँकेमा किसानले तीन बाली खेती गरेर राम्रो उत्पादन लिन सक्ने र त्यसले आर्थिक रूपमा समृद्धिको लागि सहयोग पुग्ने अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए । रासस