काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त घोषणा गरेका हुन् ।
किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई ुअमूल्य सम्पत्तिु को रूपमा आत्मसाथ गरेको बताएका छन् ।
फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
पार्टी परित्याग गरे पनि राजनीतिबाट भने उनी टाढा नहुने उनले बताएका छन् । उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई आत्मसाथ गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।
‘मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु’, किरातीले उल्लेख गरेका छन् ।




प्रतिक्रिया