सांसदलाई ‘रातो पासपोर्ट’ दिने तयारी,दलहरूबिच छलफल सुरु


काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) उपलब्ध गराउने प्रक्रियामा देखिएका कानुनी र व्यावहारिक जटिलता हटाउन राजनीतिक दलहरूबिच छलफल सुरु भएको छ।

बुधबार सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको हो।

बैठकमा राहदानी ऐन २०७६ र नियमावलीका प्रावधानका कारण सांसदहरूलाई कूटनीतिक राहदानी सिफारिस गर्न परेको समस्याबारे चर्चा गरिएको थियो। बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक एवं सांसद खश्बु ओलीले हालको कानुनी व्यवस्थाले सांसदहरूको वैदेशिक भ्रमणमा समस्या पारेको बताइन् ।

राहदानी ऐन २०७६ को दफा ६ अनुसार सरकारी कामकाज वा विशेष काममा जाँदा मात्रै कूटनीतिक राहदानी पाउने व्यवस्था छ । अहिले यसलाई केहि खुकुलो बनाउने विषण्मा छलफल भएको हो ।

विगतको अभ्यासमा यस्तो राहदानी सहजै उपलब्ध हुने भए पनि नयाँ ऐन कार्यान्वयनमा आएपछि कडाइ गरिएको थियो।