ओखलढुंगा, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७ औँ स्थापना दिवसको अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी ओखलढुंगाले मानवीय सेवाभावका साथ विभिन्न कार्यक्रमको सुरुवात गरेको छ।
दिवसकै अवसर पारेर सोमबार एमालेले ओखलढुंगास्थित मिसन हस्पिटलमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। एमाले जिल्ला संयोजक हर्कबोल राईको नेतृत्वमा अस्पताल पुगेको टोलीले विभिन्न वार्डहरूमा रहेका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै फलफूल वितरण गरेको हो।
बिरामीहरूलाई फलफूल वितरण गर्ने क्रममा एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष शंकर कटवाल, प्रदेश सल्लाहकार तथा सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, कार्यालय सचिव एवं जिल्ला कमिटी सदस्य कृष्णबहादुर कार्की, जिल्ला कमिटी सदस्य डिबी गुरुङ र सुनकोशी गाउँपालिका- १० का वडा सदस्य भूपाल खत्री लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमलाई मिसन हस्पिटलकी नर्स अनु राईले सहजीकरण र सहयोग गरेका थिए।
पार्टी स्थापना दिवसकै सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीले भोलि वैशाख १० गते पनि विशेष साङ्गठनिक कार्यक्रमको तयारी गरेको नेकपा (एमाले) ओखलढुंगाका संयोजक हर्कबोल राईले जानकारी दिए।
संयोजक राईका अनुसार भोलि बिहान १०:३० बजे पार्टी कार्यालयमा जनवर्गीय संगठनहरूको संयन्त्रको संयुक्त बैठक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। उक्त अन्तर्क्रियामा पार्टीको साङ्गठनिक सुदृढीकरण, जनवर्गीय संगठनहरूको प्रभावकारिता र भावी कार्यदिशाका बारेमा गहन छलफल हुने जिल्ला कमिटीले जनाएको छ ।










प्रतिक्रिया