यातयातमा विद्यार्थीको ४५ प्रतिशत छुट माग गर्दै प्रदर्शन


काठमाडौँ । सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरकार विरुद्ध विरोध प्रदर्शन भएकाे छ । आज सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेकाे हाे ।

विद्यार्थीहरूले ‘विद्यार्थीको ४५% छुट खोइ ?’ भन्दै नाराबाजीसहित प्रदर्शन गरेका थिए । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले व्यवसायीलाई दिँदै आएको कर छुटको सुविधा कटौती गरेको अवस्थामा विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको थियो ।

व्यवसायीहरूका अनुसार वि.सं. २०६५ सालमा भएको सहमति बमोजिम व्यवसायीले ४५ प्रतिशत भाडा छुट दिएबापत सरकारले वार्षिक कर, रुट परमिट र जाँच पास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था थियो ।

तर, मुलुक सङ्घीयतामा गएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७३ देखि नै उक्त ६० प्रतिशत कर छुटको सुविधा हटाएका छन् । 

महासङ्घले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै सरकारले दिने सुविधाहरू हटाएको र केन्द्र तथा प्रदेशबिच समन्वय नभएको अवस्थामा भाडा छुट मात्रै कार्यान्वयन गर्न नसकिने अडान राखेको छ ।

जबसम्म व्यवसायीले पाउने कर छुटलाई कानुनी रूपमा सुनिश्चित गरिँदैन, तबसम्म विद्यार्थी भाडा छुटको परिपत्र कार्यान्वयन गर्न नसकिने व्यवसायीको ठहर छ ।