हेटौँडा । बागमती प्रदेश सरकारको अनावश्यक कर्मचारी भार कटौती गर्न सिफारिस गरेको छ । सरकारको कार्यसम्पादनलाई चुस्त बनाउन गठित उच्चस्तरीय समितिले ७०१ कर्मचारी दरबन्दी कटौती गर्दै प्रदेशको नयाँ दरबन्दी संरचना प्रस्ताव गरेको हो ।
समितिले मन्त्रालयको संख्या घटाउनुका साथै साबिकका निकायहरूमा रहेका कतिपय अनावश्यक पदहरू खारेज गरी ‘स्लिम बट इफेक्टिभ’ प्रशासनको खाका तयार गरेको हो । पूर्वसचिव विमल वाग्ले संयोजक रहेको प्रदेश प्रशासनिक पुनर्संरचना अध्ययन तथा सुझाव समितिको प्रतिवेदन अनुसार प्रदेशमा कायम रहेको ५ हजार १३८ दरबन्दीमा ७०१ कटौती गरी ४ हजार ४३७ कायम गर्न सिफारिस गरेको हो ।
उक्त कार्यबाट वार्षिक करिब ४९ करोड रुपैयाँ प्रशासनिक खर्च जोगिने र सेवा प्रवाहमा दोहोरोपन अन्त्य हुने समितिको निष्कर्ष छ ।
समितिले प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिस्ट्रार कार्यालय, दुग्ध विकास बोर्ड सहित ५ वटा निर्देशनालयहरू खारेजीको लागि प्रस्ताव गरेको छ भने २ वटा निर्देशनालयलाई मर्जर गरी कार्य सञ्चालन गर्न सिफारिस गरेको छ । समितिले कृषि र पशुपन्छी निर्देशनालय मर्जर गर्न र शिक्षा विकास निर्देशनालय कायम गर्न सिफारिस गरेको छ । यातायात पूर्वाधार, स्वास्थ्य, उद्योग वाणिज्य, वन निर्देशनालय खारेज गर्न सिफारिस गरेको छ ।




प्रतिक्रिया