जुनसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षालाई प्राथमिकता दिन्छौँ :महानिरीक्षक


काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पारेका छन् ।

आज काठमाडौँको नयाँ बसपार्कस्थित ट्राफिक प्रहरी वृत्तको पुनःनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जुनसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइने बताए ।

महानिरीक्षक कार्कीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भई क्षति पुगेको उक्त भवन नागरिककै सहयोगमा पुनःनिर्माण गरिएको जानकारी दिए ।

महानिरीक्षक कार्कीले घरबाट सुरक्षित रूपमा बाहिरिएको व्यक्ति साँझ पुनः सुरक्षित घर फर्किन सकोस् भन्ने सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको बताए ।

उनले आन्दोलनका क्रममा प्रहरीकै बसोबास गर्ने संरचना जलाइएको स्मरण गर्दै त्यसको पुनःनिर्माणमा नागरिकस्तरबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।