काठमाडौँ । स्ट्रेट अफ हर्मुजमा इरानले बिच्छ्याएको बारुदी सुरुङहरू पूर्ण रूपमा हटाउन करिब ६ महिना लाग्न सक्ने अमेरिकी रक्षा मन्त्रालयको एउटा मूल्याङ्कनले देखाएको छ ।
यसले विश्व बजारमा कच्चा तेलको भाउ उच्च राख्न सक्ने विश्लेषण गरिएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता इरानले स्ट्रेट अफ हर्मुजको जलक्षेत्र अवरुद्ध गरेको छ ।
यो मार्ग भएर विश्वमा खपत हुने झन्डै २० प्रतिशत तेल तथा ग्यास जान्थ्यो । आपूर्ति अभावकाबिच इन्धनको मूल्य तीव्र रूपमा बढेको छ भने विश्व अर्थतन्त्रमा असर परेको छ ।
युद्ध समाप्त भएर नाकाबन्दी हट्यो नै भने पनि जलमार्गमा राखिएका बारुदी सुरुङहरू सफा गर्न महिनौँ लाग्न सक्ने बताइएको छ । पेन्टागनको मूल्याङ्कनअनुसार यस्तो सफाइ अभियान युद्ध अन्त्य नहुँदासम्म सुरु हुने सम्भावना कम छ ।
रिपोर्ट अनुसार इरानले उक्त क्षेत्रमा २० वा सोभन्दा धेरै बारुदी सुरुङहरू बिच्छ्याएको हुनसक्ने बताइएको छ । जसमा केही जीपीएस प्रविधिबाट टाढाबाट सञ्चालन गर्न मिल्ने खालका छन् ।




प्रतिक्रिया