नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त थापाद्वारा पदभार ग्रहण


काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त राजन विक्रम थापाले बिहीवारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । सरकारले मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त अध्यक्ष थापाले बुधवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ ग्रहणपछि बिहीवार उनले प्राधिकरण पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

करिब तीन दशक लामो बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभव बोकेका थापा यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । राष्ट्र बैंकको १३औँ नम्बरका कार्यकारी निर्देशक रहेका उनी पछिल्लो समय लघुवित्त संस्था सुपरिवेक्षण विभागको नेतृत्वमा थिए ।

राष्ट्र बैंकको ३० वर्षे सेवा अवधिका कारण आगामी चैतमा अवकाश पाउने तयारीमा रहेका थापालाई सरकारले अवकाशअघि नै बीमा क्षेत्रको नियामक निकायको नेतृत्वमा नियुक्त गरेको हो ।

थापासँग बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण, नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव छ । उनले यसअघि राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक तथा लगानी समितिको संयोजकका रूपमा समेत काम गरिसकेका छन् ।

त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्य तथा लगानी समिति संयोजकको जिम्मेवारी पनि उनले निर्वाह गरिसकेका छन् ।