ओखलढुंगा । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन् ।
शनिबार एक प्रेस विज्ञप्तिमार्फत उनले घटनाको पूर्ण सन्दर्भ नबुझी आंशिक दृश्य मात्र सार्वजनिक हुँदा वास्तविकता त्यस्तो नभएको बताएका छन् ।
पोखरेल वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ रानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा जिल्लावासीसँग भेटघाट, अन्तर्क्रिया तथा स्थानीय अवस्था बुझ्ने उद्देश्यले पुगेका थिए । उक्त क्रममा आफू विद्यालय पुग्दा प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो ।
विज्ञप्तिमा उनले सार्वजनिक जीवनमा रहँदा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गरेका छन् । ‘मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान र भावनामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गर्दछु,ु’ उनले उल्लेख गरेका छन् ।
यस घटनापछि उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले उनको व्यवहारप्रति व्यंग्यात्मक टिप्पणी गरेका थिए । त्यसपछि उनले औपचारिक रूपमा माफी मागेका हुन् ।





प्रतिक्रिया