आज मनोहराको सुकुमबासी बस्ती हटाइँदै, चल्यो डोजर


काठमाडौं, वैशाख १३ । काठमाण्डौं उपत्यकाका अनधिकृत संरचना र बस्ती हटाउने कामले आज पनि निरन्तरता पाउने भएको छ । हिजो हटाउन बाँकी रहेका क्षेत्रमा आज डोजर चलाउने र हटाउने तयारी अनुसार प्रहरी र डोजर परिचालन गरिएको छ ।

शनिबार थापाथली तथा गैरिगाउँ, शान्तिनगर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने काम सकिएपछि भक्तपुरको मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने क्रममा अवरोध भएको थियो । अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउने क्रममा सुकुम्वासी बस्तीमा रहेका केहीले ढुङगामुढा गरेपछि राकिएको काम आज सुचारु गर्न व्यापक प्रहरी परिचालन गराइएको छ । मनोहरा सुकुम्वासी बस्तीमा ७७७ घर टहरा रहेका छन् ।

शनिबार साँझ सात वटा घर टहरा भत्काएपछि स्थानीयले आक्रमण सुरु गरेका थिए । हिजो बस्तीका संरचना भत्काउँदा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि त्यहाँ संरचना भत्काउने काम रोकिएको थियो। ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भएका छन्। मनोहरा बस्तीमा केही पक्की घर पनि छन्। पक्की घर डोजरले भत्काउन थालेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका हुन्।

सरकारले सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा रहेको मनोहरा खोला किनाराका केही सुकुम्वासी परिवाले आफै बस्ती छाडेका हुन् । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्।