मनोहरामा सुकुमवासी बस्ती हटाउन डोजरसहित भएभरका प्रहरी परिचालन


काठमाडौं, वैशाख १३ । भक्तपुरको मनोहरा क्षेत्रस्थित सुकुमवासी बस्ती हटाउन आइतबार बिहानैदेखि डोजरसहितको टोली परिचालन गरिएको छ । बस्ती वरपर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।

यसअघि शनिबार बस्ती हटाउने प्रयासका क्रममा स्थानीयले विरोध जनाउँदा स्थिति तनावग्रस्त बनेको थियो । ढुंगामुढा भएपछि केही सुरक्षाकर्मी घाइते भएका थिए । त्यसपछि टोली फिर्ता भएको थियो ।

आज बिहान पुनः पुगेको टोलीले बस्ती खाली गराउने काम अघि बढाएको छ । मनोहरा नदी किनारमा बसोबास गर्दै आएका बासिन्दाले सामान सार्न थालेका छन् भने सुरक्षाकर्मीले सहजीकरण गरिरहेका छन् ।

जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको छ । उपत्यकाभरका प्रहरी युनिटसहित अन्य सुरक्षा निकायसमेत परिचालन गरिएको छ ।

यसअघि शनिबार काठमाडौँ महानगरपालिकाले थापाथली र गैह्रीगाउँका सुकुमवासी बस्तीमा पनि डोजर चलाएको थियो । मनोहराको बस्ती हटाउने कार्य आज सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ ।