सुन्दरीघाटमा राखेका सुकुमबासीको गुनासो:’सरकारले पेटभरि खाना पनि दिएन’


काठमाडौं । सनिबार सरकारले काठमाडौंको थापाथली,गैरीगाउँ र सिनामंगल लगायत क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ । तीन स्थानबाट हटाइएका सुकुमवासीहरूलाई सरकारले कीर्तिपुर लगायतका क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरेको छ ।

सरकारले वास्तविक सुकुमबासी स्क्रिनिङका लागि भूमि सुधार र सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकाको टोली खटाएको छ  । टोलीले उनीहरूको व्यक्तिगत विवरण, पारिवारिक विवरण र सामानको विवरण लिइरहेको छ ।

सम्पर्कमा आएकाहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा हिजो नै लगेर राखेको छ । आश्रममा बसेका सुकुमवासीहरूलाई काठमाडौं महानगरपालिकाले प्याकेटको खाना व्यवस्था गरेको छ ।

यसैबीच कीर्तिपुरमा रहेका सुकुमबासीहरुले प्याकेटको खानाले पेट नभरिएको भन्दै गुनासो पोखेका छन् । महानगरले उपलब्ध गराएको एक प्याकेट खानाले पेट नभरिने भन्दै उनीहरूले चित्त दुःखाएका हुन्।