काठमाडौं, वैशाख १४ । कैलालीको चुरे गाउँपालिका–२ खैराला क्षेत्रमा एक पुरुष परस्त्रीको घरभित्रै रंगेहात फेला परेको घटना सार्वजनिक भएको छ। उक्त घटना बिहीबार राति भएको बताइएको छ। स्थानीय स्रोतका अनुसार महरा थरका एक पुरुष सोही वडाकी साउँद थरकी एक विवाहित महिलाको घरमा प्रवेश गरेका थिए। शंकास्पद गतिविधि देखेपछि स्थानीयवासीहरू घरभित्रै पुगेका थिए र उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएपछि स्थानीयहरूले ती पुरुषलाई रातभर बाँधेर राखेको जनाइएको छ।
प्रारम्भिक जानकारी अनुसार ती पुरुष र महिला बीच सामाजिक सञ्जालमार्फत चिनजान भएको र त्यसपछि सम्बन्ध विस्तार भएको बुझिएको छ। उनीहरूबीच लामो समयदेखि नियमित सम्पर्क तथा भेटघाट हुँदै आएको समेत खुलेको छ। उल्लेखनीय कुरा के भने दुवै जना विवाहित रहेको तथ्य पनि बाहिरिएको छ।
घटनापछि गाउँमा तनाव सिर्जना हुन सक्ने अवस्था देखिएपछि स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा दुवै पक्षबीच छलफल गरिएको थियो। चुरे गाउँपालिका–२ का वडाध्यक्ष केशव साउदका अनुसार छलफलका क्रममा दुवै पक्षले भविष्यमा यस्ता गतिविधि दोहोर्याउने छैनौँ भन्ने प्रतिबद्धतासहित आफ्नो गल्ती स्वीकार गरेका छन्।
उक्त सहमतिपछि दुवै जनालाई आपसी समझदारीका आधारमा परिवारको जिम्मा लगाइएको वडाध्यक्ष साउदले जानकारी दिए। महरा थरका ती पुरुष सशस्त्र प्रहरी बलका सहायक हवल्दार रहेको तथ्य पनि खुलेको छ।




प्रतिक्रिया