स्पष्टीकरण बारे अनभिज्ञ कान्छाराम,भन्छन् -`पार्टीले कारबाही गरे पनि केही फरक पर्दैन´


काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम)ले पार्टीले कारबाही गरे पनि आफुलाई फरक नपर्ने बताएका छन् ।

कांग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका कान्छारामलाई पार्टीको केन्द्रिय अनुशासन समितिले तीन दिने अल्टिमेटम सहित स्पष्टीकरण सोधिएको थियो ।

रामेछाप कांग्रेसका सभापति समेत रहेका कान्छारामले आफू अहिले बाहिर रहेको बताउँदै रिपोर्टस नेपाललाई भने, `मलाई पार्टीले पत्र व्हाट्सएपमा पठाएको थियो । म त अहिले अलि बाहिर छु । मैले भाइहरुलाई दिनु भनेको थियो, दियो होला ।´

तर ,उनले पार्टीलाई स्पष्टीकरण बुझाएको वा नबुझाएको बारेमा जानकारी नलिएको बताए । `यस्ता स्पष्टीकरणहरु सोधिरहन्छन् । भइरहन्छ ,मलाई पार्टीले कारबाही गरे पनि केही फरक पर्दैन,´ उनले भने ।

उनलाई पदीय मर्यादाको ख्याल नगरी पार्टीको नेतृत्वका विरुद्ध भ्रमपुर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै कांग्रेसको विधान २०१७,(संशोधन सहित) को धारा ३४ को उपधारा ८(घ) बमोजिम तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको थियो ।

कांग्रेस केन्द्रिय अनुशासन समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ । यश विषयमा पनि थप छलफल हुने बताइएको छ ।