बाँकेका छ स्थानीय तहमा जग्गा नापजाँच


राँझा (बाँके), १५ वैशाख । भूमि समस्या समाधान आयोगले जिल्लाका छ स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा जग्गाधनी पुर्जा वितरणका लागि जग्गा नाप जाँच भइरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालले बताए ।

उनका अनुसार कोहलपुर नगरपालिकाका १५ वटै वडा, जानकी गाउँपालिकाको ५ नं वडा, बैजनाथ गाउँपालिकाको वडा नं १, ४, ६ र ७, राप्तीसोनारी गाउँपालिकाको २, ३, ४, ५, ७ र ९ खजुरा गाउँपालिकाको वडा नं ४ र ५ मा नाप नक्सा सम्पन्न भइसकेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ६, १९, २० र २१ जानकीको वडा नं ४, बैजनाथको २, ३, ५ र ८, राप्तीसोनारीको १, ६ र ८ र खजुरा गाउँपालिकाको ६, ७ र ८ नं वडामा नापनक्सा गर्ने कार्य भइरहेको छ । डुडुवा र नरैनापुर गाउँपालिकामा हालसम्म नाप नक्सा सुरु हुनसकेको छैन ।

आठ सय छ जनालाई लालपुर्जा वितरण

भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले हालसम्म ८०६ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अन्य अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ ।

कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा रहेका १२५ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र ६८१ अन्य अव्यवस्थित बसोवासी गरी हालसम्म ८०६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको अध्यक्ष खनालले बताए ।

“सबैभन्दा धेरै कोहलपुर नगरपालिका वडा नं १ मा ५४० अव्यववस्थित बसोवासी र १०० भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ”, अध्यक्ष खनालले भने, “राप्तीसोनारी वडा नं ४ मा १४१ अव्यवस्थित बसोवासी र २५ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।”

कोहलपुर वडा नं १ मा ११७ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जाका लागि राजस्व बुझाउन सूचना जारी गरेकामा १०० जनाले राजस्व जम्मा गरी आएका थिए । त्यसैगरी ७२६ अव्यवस्थित बसोवासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरेकामा ५४० जनाले राजस्व जम्मा गरेको अध्यक्ष खनालले जानकारी दिए।

जग्गाधनी पुर्जाका लागि आवासमा मूल्याङ्कनको १० प्रतिशत र जमिनमा मूल्याङ्कनको पाँच प्रतिशत राजस्व जम्मा गर्नुपर्ने प्रावधान रहेको छ । राजस्व जम्मा गर्न सूचना जारी गरे पनि कतिपय सम्पर्कमा नआएको र कतिपयसँग राजस्व बुझाउने रुपैयाँसमेत नभएको पाइएको अध्यक्ष खनालको भनाइ छ ।

जग्गाधनी पुर्जा वितरणबाट हालसम्म कोहलपुर नगरपालिकाबाट पाँच करोड २७ लाख ४६ हजार ३१७ रुपैयाँ र राप्तीसोनारी गाउँपालिकाबाट ५१ लाख ८३ हजार ९९२ गरी जम्मा पाँच करोड ७९ लाख ३० हजार ३०९ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कोहलपुर नगरपालिका–१ मा रहेका थप ८८२, बैजनाथ गाउँपालिका–७ का २२ र खजुरा गाउँपालिका–४ का ५० अव्यवस्थित बसोवासी र ३० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई राजस्व जम्मा गर्न आयोगले सूचना प्रकाशित गरेको छ । रासस