रामेछापको गोकुलगंगा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने


काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिकाले सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ।

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै आइतबारसमेत कार्यालय तथा विद्यालयहरू सञ्चालन हुने जानकारी गराएको हो ।

गाउँपालिकाले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको तोकिएको वार्षिक पाठ्य घण्टा पूरा नहुने र शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पर्ने गाउँपालिकाले निष्कर्ष निकालेको छ ।

त्यसैगरी सहरी क्षेत्रको तुलनामा यस गाउँपालिकामा सवारी साधनको प्रयोग अत्यन्त न्यून हुने भएकाले इन्धन बचत गर्ने उद्देश्य सान्दर्भिक नदेखिएको सूचनामा उल्लेख गरिएको छ ।

दुर्गम क्षेत्रका बिरामीहरू उपचारबाट वञ्चित नहुन् र आकस्मिक सेवा प्रवाहमा कठिनाइ उत्पन्न नहोस् भन्नका लागि स्वास्थ्य सेवाको संवेदनशीलतालाई ध्यानमा राख्दै आइतबार पनि स्वास्थ्य संस्था खोल्ने निर्णय गरिएको बताएको छ ।

सरकारले शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि पछिल्लो समय स्थानिय तहहरुले आफुनै ढंगले निर्णय गरिरहेको छ ।