रौतहटमा विकास योजनामा बेथिति र भ्रष्टाचारको आरोप, जसपा नेपालद्वारा सिडियोलाई ज्ञापनपत्र


अभिमनु पटेल, रौतहट । मधेश प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गत रौतहट जिल्लामा सञ्चालन भइरहेका विकास योजनाहरूमा व्यापक बेथिति, भ्रष्टाचार, कमिसनतन्त्र, दलालतन्त्र तथा कर्मचारीतन्त्र मौलाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटले ध्यानाकर्षण गराएको छ।

विशेषगरी पूर्वाधार विकास कार्यालय तथा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै, भौतिक पूर्वाधार कार्यालय गौर र पर्यटन विकास कार्यालय रौतहट गौरमार्फत सञ्चालन हुने योजनाहरूमा अनियमितता भइरहेको आरोप लगाइएको छ।


उक्त समस्याहरू समाधान गरी विधिको शासन, जनमैत्री पारदर्शिता तथा सुशासन कायम गर्न माग गर्दै जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गौर, रौतहट मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा सबै योजनाहरूलाई कानुनसम्मत रूपमा सार्वजनिक खरिद ऐन अन्तर्गत पारदर्शी ढंगले सञ्चालन गर्न माग गरिएको छ। साथै, विकास योजनामा हुने अनियमितता रोक्न प्रभावकारी अनुगमन तथा कारबाहीको समेत जोडदार माग गरिएको छ।