काठमाडौं, वैशाख १७ । उच्च हिमाली पर्यटनमा बढ्दो भीड र अव्यवस्थित गतिविधिलाई नियन्त्रण गर्न सरकारले कडाइ अपनाएको छ। अब ट्रेकिङ प्याकेजमार्फत जाने सामान्य पर्यटकले सगरमाथा आधार शिविरमा रात बिताउन पाउने छैनन्।
पर्यटन विभागका अनुसार केही ट्रेकिङ एजेन्सीहरूले ‘ओभरनाइट स्टे’ सहितका आकर्षक प्याकेज बेच्दै पर्यटकलाई आधार शिविरमै रात बसाउने अभ्यास बढेपछि यसमा कडाई गर्दै पदयात्रा गरेर आधार शिविर पुग्नेले रात बिताउन नपाउने भएका हुन् ।
आधार शिविरमा अनावश्यक भीड बढ्दै गएको र वास्तविक पर्वतारोही टोलीको व्यवस्थापनमा अवरोध पुगेपछि विभाले पर्वतारोहणबाहेकका पर्यटकलाई त्यहाँ बस्न पूर्ण रोक लगाएको हो।
विभागले पर्वतारोहण नियमावली २०५९ को विद्यमान व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्दै पर्वतारोही टोलीका सदस्य, गाइड तथा सरदार, उच्च हिमाली कामदार, स्थानीय सहयोगी बाहेक अन्य कसैले विभागको विशेष अनुमति बिना त्यहाँ बस्न नपाउने जनाएको छ ।
सगरमाथा क्षेत्र विश्वकै संवेदनशील र सीमित पूर्वाधार भएको गन्तव्य भएकाले अनियन्त्रित पर्यटक गतिविधिले वातावरणीय र व्यवस्थापकीय दबाब बढाउने जोखिम हुन्छ।




प्रतिक्रिया