निर्वाचनप्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष


सुर्खेत । निर्वाचन सम्पन्न भएको झण्डै दुइ महिनापछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आशङ्का व्यक्त गरेका छन् । बिहीबार रुकुम पश्चिम पुगेका प्रचण्डले फागुन २१ गतेको निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको तर्क गरेका हुन् ।

उनले फागुन २१ मा सम्पन्न निर्वाचनको गम्भीर ढंगले समीक्षा गरेको बताए । ‘हाम्रो निष्कर्षमा यो निर्वाचन सामान्य र स्वाभाविक रहेन, बरु केही हदसम्म असामान्य र अस्वाभाविक देखियो,’प्रचण्डले भने ।

तथापि निर्वाचन मार्फत प्रकट भएको जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सफलतालाई सहज रूपमा स्वीकार गरेको पनि उनले बताए ।

यसैबिच उनले सरकारले गरेका पछिल्ला निर्णयहरूको विरोध समेत गरे । सुकुमवासीलाई बल प्रयोग गरेर हटाउने, ट्रेड युनियन खारेज, विद्यार्थी सङ्गठनमाथिको प्रहार, अध्यादेश ल्याउने र बोलाइसकेको संसद् बैठक स्थगित गर्ने निर्णय असंवैधानिक रहेको उनले बताए ।