सामाजिक सुरक्षा र श्रमिकमैत्री नीति सुनिश्चित गर्न सरकारलाई प्रचण्डको आग्रह


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्– ‘यस महत्वपूर्ण घडीमा, नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदुर र सुकुमबासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछ। श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछु।’

यस्तो छ उनको शुभकामना सन्देश :

अन्तर्राष्ट्रिय श्रमिक दिवस १ मईका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदूरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गर्दै विश्वभरका श्रमिकहरूले यो दिवस मनाउँदै आएका छन्। यस अवसरमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गप्रति दृढ ऐक्यबद्धता व्यक्त गर्दछु।

यस महत्वपूर्ण घडीमा, नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुम्बासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछ। श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछु।

साथै श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बनोस्।

अन्त्यमा, नेपाल तथा विश्वभरिका सम्पूर्ण श्रमजीवी वर्गप्रति पुनः सम्मान, ऐक्यबद्धता र हार्दिक शुभकामना व्यक्त गर्दछु।