काठमाडौं । २५७० औँ बुद्ध जयन्तीका अवसरमा शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकाका बौद्ध तीर्थस्थलहरूमा श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको छ । विशेषगरी स्वयम्भू र बौद्धनाथ क्षेत्रमा पूजाआजा र दर्शन गर्नेहरूको ठूलो घुइँचो लागेको हो ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको त्रिसंयोग दिवस वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर बुद्धको स्मरण गरिँदै छ ।
स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धको अस्तु धातु सर्वसाधारणका लागि दर्शन गर्न राखिएपछि त्यहाँ बिहानैदेखि लामो लाम लागेको हो । स्वयम्भू र बौद्धनाथ क्षेत्रका गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीहरूले शान्तिपाठ, ध्यान साधना र परिक्रमा गरिरहेका छन् । भक्तजनले दीप प्रज्वलन गर्दै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
आजभन्दा २५७० वर्षअघि कपिलवस्तुको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो । बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पनि पूजिन्छ । बुद्धले प्रतिपादन गरेको ‘मध्यम मार्ग’ अहिंसा, करुणा र मैत्रीभावको सन्देशले विश्वभर मानवतावादी मूल्य प्रवर्द्धनमा ठूलो योगदान पुर्याएको मानिन्छ ।
यस अवसरमा काठमाडौँका विभिन्न गुम्बाहरूमा विशेष पूजाआराधना, बुद्धको जीवनीबारे प्रवचन र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन् । साँझपख बौद्ध र स्वयम्भू क्षेत्रमा विशेष दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको छ ।
बुद्ध जयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा पनि भक्तजनको भीड लागेको छ । भक्तजनले दीप प्रज्ज्वलन र ध्यान गर्नुका साथै त्रिपिटक, धम्मपद जस्ता धार्मिक ग्रन्थहरु पाठ गरिरहेको जनाइएको छ । बुद्धका अनुयायीहरुले मुख्यतः विश्वशान्तिको कामना गरेका छन् ।




प्रतिक्रिया