प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु


दोधारा चाँदनी (कञ्चनपुर), १८ वैशाख । कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको आज कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश राजेन्द्र भण्डारीले उद्घाटन गरे । प्रतियोगितामा ‘बी’ लेभलका ४८ तथा भेट्रानतर्फ ३२ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक शेरबहादुर सिंहले जानकारी दिए । खेलकुदको माध्यमबाट बाह्रसिङ्गाको प्रमुख वासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा ‘बी’ लेभलतर्फ पहिलो हुनेले रु ४४ हजार ४४४, दोस्रो हुनेले रु २२ हजार २२२ र तेस्रो हुनेले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै, भेट्रानतर्फ पहिलो हुनेलाई रु १५ हजार ५५५, दोस्रो हुनेलाई रु ७ हजार ५५५ र तेस्रो हुनेलाई रु ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

उद्घाटन समारोहमा कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, भीमदत्त नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बम, कञ्चनपुर ब्याडमिन्टन सङ्घका अध्यक्ष राहुल भट्टलगायत उपस्थित थिए । रासस