कैंची धाम र कामाख्या जाने गरी रवि लामिछाने श्रीमतीसहित भारत प्रस्थान


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धर्मपत्नी निकिता पौडेलसहित तीन दिने धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। धनगढीको स्थलमार्ग हुँदै उनीहरू पारिवारिक तीर्थाटनका लागि भारततर्फ लागेका हुन्।

रास्वपा सभापतिको निजी सचिवालयका अनुसार यो उनीहरूको पूर्णतः निजी धार्मिक यात्रा हो। तीन दिने भ्रमणका क्रममा लामिछाने दम्पतीले भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल नैनीतालको कैंची धाम तथा आसामको गुवाहाटीमा रहेको ऐतिहासिक कामाख्या मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। त्यहाँ उनीहरूले स-परिवार विशेष पूजाअर्चना र दर्शन गर्ने सचिवालयले जनाएको छ।

राजनीतिक दौडधुप र हालैका व्यस्तताबीच सभापति लामिछानेको यो तीर्थाटनलाई लिएर राजनीतिक वृत्तमा भने चासोका साथ हेरिएको छ। तीन दिनको धार्मिक अनुष्ठान सकिएपछि लामिछाने दम्पती स्वदेश फर्किने तालिका छ।