बदलिँदो विश्व परिस्थितिमा डा. वाग्ले र डा. जयशंकरबीच कूटनीतिक मन्थन


काठमाडौँ । बदलिँदो विश्व राजनीति, आर्थिक विखण्डन र बहुपक्षीय सहकार्यको भविष्यबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच गहन तथा रोचक संवाद भएको छ।

भारतीय टेलिभिजन च्यानल एनडिटीभीद्वारा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार सम्पन्न ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ (सार्वभौम छनोटको भू-राजनीति) शीर्षकको सत्रमा दुवै नेताबीच विश्व व्यवस्था र क्षेत्रीय साझेदारीबारे बहस भएको हो। उक्त सत्रमा भारतीय विदेशमन्त्री डा. जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री डा. वाग्ले अतिथि वक्ताका रूपमा सहभागी थिए।

शीतयुद्धपछि विश्वले आर्थिक र व्यापारिक क्षेत्रमा बहुपक्षीयतालाई जोड दिएको भए पनि पछिल्ला वर्षहरूमा त्यसको धरातल कमजोर बन्दै गएको अर्थमन्त्री डा. वाग्लेले बताए। व्यापारिक गुटबन्दी र विश्वव्यापी विखण्डन बढ्दै गएको अवस्थामा विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे उनले जिज्ञासा राखेका थिए।

डा. वाग्लेले बहुध्रुवीय विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सहकार्यका लागि कडा औपचारिक संस्थागत ढाँचा चाहिन्छ कि साझेदार मुलुकहरूबीचको व्यावहारिक समझदारी नै पर्याप्त हुन्छ भन्ने विषयमा जयशंकरको धारणा मागेका थिए।

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा मुलुकहरू जटिल औपचारिक प्रतिबद्धताभन्दा लचिलो र व्यावहारिक सहकार्यतर्फ बढी आकर्षित भएको उल्लेख गरे। औपचारिक संरचना निर्माण गर्दा वार्ता, प्रशासनिक प्रक्रिया र नियम निर्धारणमै धेरै समय खेर जाने भएकाले मूल उद्देश्य नै ओझेलमा पर्न सक्ने उनको तर्क थियो।

सबै प्रकारका सहकार्यलाई एउटै संस्थागत ढाँचामा बाँध्न आवश्यक नरहेको उल्लेख गर्दै उनले सहकार्यको स्वरूप विषय र साझेदारको प्रतिबद्धता अनुसार फरक हुने स्पष्ट पारे। ब्रिक्स (BRICS) को उदाहरण दिँदै उनले यसको आफ्नै छुट्टै सचिवालय वा लिखित बडापत्र नभए तापनि प्रभावकारी रूपमा काम गरिरहेको र यो साङ्घाई सहयोग सङ्गठन (SCO) भन्दा भिन्न रहेको बताए।

“प्रवृत्तिकै कुरा गर्ने हो भने, अहिले विश्व राजनीति बढी तदर्थ (Ad-hoc) र समान विचारधारा भएका समूहहरूतर्फ अघि बढिरहेको छ,” विदेशमन्त्री जयशंकरले भने। भारतले पछिल्लो दशकमा यस्तै प्रकृतिका करिब ५० वटा साना र नतिजामुखी समूहहरूमा सहकार्य बढाएको उनले जानकारी दिए।

संवादका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालले सङ्कटका बेला भारतबाट पाउँदै आएको सहयोगको सराहना गरे। सन् २०१५ को महा-भूकम्प तथा हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपद्का बेला भारतले केही घण्टामै द्रुत उद्धार र सहायता उपलब्ध गराएको भन्दै नेपाल त्यसप्रति कृतज्ञ रहेको उनले बताए।

बदलिँदो भू-राजनीतिक परिवेश, ठूला शक्ति राष्ट्रहरूको भूमिका र आर्थिक चुनौतीका बीच भएको यो संवादले परिणाममुखी कूटनीति र क्षेत्रीय साझेदारीको नयाँ दिशा संकेत गरेको छ।