शनिवार कति सुकुमवासी आए सम्पर्कमा ?


काठमाडौं, वैशाख १९ । काठमाडौं उपत्यकाका नदी किनारका सुमुमवासी बस्ती हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण संकलन तथा स्वास्थ्य उपचार भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरेको अस्थायी कार्यालयमार्फत यो प्रक्रिया सुचारु भइरहेको हो ।

विवरण संकलनको पहिलो शनिवार मात्रै उपत्यकाका विभिन्न स्थानका २ सय ६० सुकुम्वासी परिवारले आफ्नो लगत बुझाएका छन् । विवरण सङ्कलनसँगै सञ्चालित स्वास्थ्य शिविरमा ८५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

नदी किनारका क्षेत्रलाई अतिक्रमणमुक्त गराउने अभियान अन्तर्गत भौतिक संरचनाहरू भत्काइएपछि ती क्षेत्रका बासिन्दाहरूको व्यवस्थापन र सेवाका लागि सरकारले यो पहल थालेको हो ।