काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीमा राज्यले ‘डोजर आतंक‘ मच्चाइरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतङ्कका कारण मानिसको ज्यानसमेत गएको बताए ।
विद्यालयमा डोजर लगाउँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी भविष्यविहीन अवस्थामा पुगेको उल्लेख गर्दै सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको बताए ।
राज्य सञ्चालनको शैली लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै आङ्देम्बेले बल प्रयोगमार्फत गरिने व्यवस्थापनले नागरिकमा त्रास सिर्जना हुने र त्यसले विद्रोह उत्पन्न हुने चेतावनी दिए ।
मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा आफूहरूको कुनै असहमति नरहेको उनले बताए । खोलानाला, राजधानी तथा देशका विभिन्न भूगोललाई व्यवस्थित र आकर्षक बनाउने कार्यमा सबैको साझा चाहना रहेको उनको भनाइ छ ।




प्रतिक्रिया