काठमाडौं, वैशाख २१ । भारतको विदेश मन्त्रालयले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभएर पुरानो भएको दाबी गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालद्धारा जारी विज्ञप्तिमा कैलाश मानसरोवर यात्राका लागि उक्त मार्ग ऐतिहासिक मार्ग भएको दावी गर्दै सोही मार्ग भएर कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको जवाफ फर्काएको हो ।
चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएपछि भारतले आइतबार नै जवाफ फर्काएका हो
जवाफमा भनिएको छ, ‘यस विषयमा भारतको धारणा सधैं स्पष्ट र स्थिर रहँदै आएको छ। लिपुलेक पास सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि लामो समयदेखि प्रयोग हुँदै आएको मार्ग हो र यस मार्ग हुँदै यात्रा दशकौँदेखि सञ्चालन हुँदै आएको छ। यो कुनै नयाँ विकास होइन।’
नेपालले गरेको दावीका सम्बन्धमा भारतले ती दावीहरू न्यायोचित नभएको र ऐतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएको जिकिर गरेको छ। भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक कुराकानीका लागि तयार रहेको बताएको छ। यसमा सहमति भएका बाँकी सीमा विवादलाई पनि वार्ता र कूटनीतिको माध्यमबाट समाधान गर्न भारत खुला रहेको प्रवक्ता जैसवालले उल्लेख गरेका छन् ।





प्रतिक्रिया