काठमाडौं, वैशाख २१ । सरकारले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह (फुली) लगाएको छ । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहसचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
१८ वैशाखमा चार वर्षे पदावधि पूरा गरी पूर्व आईजीपी राजु अर्याल अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा सरकारले पौडेललाई नियुक्त गरेको हो। शनिबारदेखि नै पद रिक्त रहे पनि बीचमा दुई दिन सार्वजनिक बिदा परेकाले आज मात्रै फुली लगाइएको हो ।
यसअघि निवर्तमान गृहमन्त्री सुधन गुरुङले आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताएका थिए । जससँगै ‘चेन अफ कमाण्ड’ को विषयलाई लिएर पक्ष–विपक्षमा बहस भएको थियो ।
उक्त अभिव्यक्तिपछि आईजीपीलाई कसको हातबाट दर्ज्यानी चिन्ह लगाइने भन्ने विषयमा बहस भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल गृह मन्त्रालय मातहत नै रहेको तथा शान्ति–सुरक्षा र सुव्यवस्था कायम गर्ने सवालमा स्थायी सरकारको प्रतिनिधिका रूपमा गृहसचिवबाटै फुली लगाइँदै आएको प्रचलन कायम राख्नुपर्ने मतसमेत व्यक्त भएका थिए । अन्ततः यसअघिकै प्रचलनअनुसार गृहसचिवबाटै फुली लगाइएको छ ।




प्रतिक्रिया