काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटको विशेष खाका सार्वजनिक गरेको छ। परम्परागत दलहरूमा व्याप्त ‘बन्द कोठा’को निर्णय प्रक्रिया र नातावादलाई चुनौती दिँदै रास्वपाले ‘प्रारम्भिक निर्वाचन’सहितको नयाँ कार्यविधि ल्याएको हो।
पार्टीले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखामा अब नेताको घरदैलो चहार्ने वा शक्तिकेन्द्रलाई रिझाउने व्यक्तिले टिकट नपाउने स्पष्ट पारिएको छ। बरु, स्थानीय रूपान्तरणको स्पष्ट खाका भएका र जनताको मन जित्न सक्ने योग्य पात्रलाई मात्रै चुनावी मैदानमा उतारिने रास्वपाले स्पष्ट पारेको छ ।
नेपाली राजनीतिमा उम्मेदवार चयन प्रक्रिया सबैभन्दा बढी विकृत बनेको निष्कर्ष निकाल्दै रास्वपाले अब ‘मनी’ र ‘मसल’ अर्थात पैसा र बाहुबलीको प्रभावलाई पूर्ण रूपमा निषेध गर्ने नीति लिएको छ।
‘किन त्यो नभएर यो उम्मेदवार छानियो भन्ने नागरिकको प्रश्नको जवाफ नेताको व्यक्तिगत लहडबाट होइन, संस्थागत प्रणालीबाट दिइनेछ,’ रास्वपाको दस्ताबेजमा उल्लेख छ।
रास्वपाले आफ्नो विधानको भाग १९ र २० लाई सक्रिय बनाउँदै ‘लिडरशिप एकेडेमी’ र ‘उम्मेदवार क्लब’को अवधारणा अघि सारेको छ। यसअन्तर्गत सम्भावित उम्मेदवारहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूको सार्वजनिक आचरणको सूक्ष्म मूल्याङ्कन गरिनेछ।
पार्टीका अनुसार उम्मेदवार बन्न चाहनेले स्थानीय आवश्यकतालाई राष्ट्रिय दृष्टिकोणसँग जोड्न सक्ने क्षमता राख्नुपर्नेछ। अन्तिम समयमा आएर हतारमा टिकट बाँड्ने प्रवृत्तिको सट्टा विधि र प्रमाणमा आधारित भएर धेरै अगाडि नै उम्मेदवारको पहिचान गरिने रणनीति पनि रास्वपाले लिएको छ।
रास्वपाले महिला, दलित र सीमान्तकृत समुदायको अर्थपूर्ण नेतृत्व सुनिश्चित गर्ने भन्दै दस्ताबेजमा जेन–जीको विद्रोह र भावनालाई समेत सम्बोधन गरिएको छ।
यस्तै, प्रवासको अनुभव र सीप सँगालेका नागरिक, अपाङ्गता भएका व्यक्ति, श्रमिक, किसान र उद्यमीहरूलाई पनि नेतृत्वदायी भूमिकामा स्थापित गर्ने लक्ष्य राखिएको छ।
स्थानीय तहलाई केवल चुनाव जित्ने थलो मात्र नभई सेवा प्रवाह सुधार्ने ‘मुख्य सरकार’का रूपमा रास्वपाले परिभाषित गरेको छ। भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी नेतृत्व र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने योजना नै उम्मेदवार छनोटको मुख्य कसी हुने बताइएको छ।
‘सुशासनको मुहान नै दलको आन्तरिक शुद्धीकरण हो’, रास्वपाले भनेको छ, ‘नारा र भाषणभन्दा काम र परिणाममा विश्वास गर्ने नेतृत्व नै हाम्रो प्राथमिकता हो।’
आफ्नो यो प्रक्रियालाई रास्वपाले पूर्णताको घोषणा नभई निरन्तर सुधारको संस्थागत यात्रा भनेको छ। काम गर्दा हुन सक्ने त्रुटिहरूलाई स्वीकार्दै नागरिकका रचनात्मक सुझावअनुसार प्रत्येक निर्वाचनका क्रममा यो विधिलाई थप परिष्कृत र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धतासमेत रास्वपाले व्यक्त गरेको छ।
पछिल्लो समय पुराना दलहरूमा उम्मेदवार चयनलाई लिएर असन्तुष्टि बढिरहेका बेला रास्वपाले ल्याएको यो विधिले राजनीतिमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।




प्रतिक्रिया