एमाले सुदूरपश्चिममा दल नेता परिवर्तनको तयारी: सांसदहरु गुण्डु तिर


काठमाडौं, वैशाख २३ । नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलको नेताका विषयमा बढ्दै गएको विवादबारे छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका छन् । ओलीको बोलाहटमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहितका सबै (११ जना) प्रदेश सभा सदस्य काठमाडौं पुगेका छन् । उनीहरुलाई प्रदेश संसदीय दलमा देखिएको विवादबारे छलफल गर्न आज गुण्डु जाँदैछन् ।

एक प्रदेश सभा सदस्यकाअनुसार बुधबार बिहान ११ बजे छलफलका लागि बोलाइएको भनिए पनि अहिलेसम्म समय निश्चित भइसकेको छैन । ‘अध्यक्ष कमरेडसँग छलफल गर्न ११ बजे गुण्डु पुग्ने भन्ने कुरा आएको छ । तर, समय निश्चित नभएकोले केही तलमाथि हुनसक्छ’, ती सांसदले भने ।

पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश संसदीय दलका नेता रावलको कार्यशैलीप्रति प्रश्न उठाउदै दल नेता फेर्नुपर्ने आवाज एमाले सुदूरपश्चिमभित्र उहिलेदेखि चल्दै आएको थियो । प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक भएपछि प्रदेशका नेता र सांसदको टोलीले छुट्टाछुट्टै रुपमा अध्यक्ष ओलीलाई भेटेर रावललाई हटाउनुपर्ने माग राखेका थिए । अध्यक्षसँग उनीहरुले सकभर सहमतिमै दल नेता परिवर्तन गर्ने, नभए संसदीय दलमा लोकतान्त्रिक अभ्यासमार्फत परिवर्तन गर्न दिनुपर्ने अडान लिएका थिए ।

प्रदेशका नेतापछि उपनेता सन्तोश शर्मा थापासहितका सांसदले समेत हालै ओलीलाई गुण्डु पुगेर भेटेका थिए । उनीहरुले दल नेता परिवर्तनदेखि प्रदेशमा मन्त्री हेरफेर गर्नुपर्ने एजेन्डा राखेको बताइन्छ ।

स्रोतका अनुसार दलको नेता परिवर्तन गर्ने कुरामा ओली सकारात्मक देखिएका छन् । तर, कसलाई नेता बनाउने भन्ने कुराको टुंगो लागिसकेको छैन् । अहिले दलको नेताका लागि उपनेता सन्तोश शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल, प्रदेश सभा सदस्य धर्मराज पाठक र वीरबहादुर थापा दौडमा छन् ।

थापा र मल्ल एमालेको केन्द्रीय सदस्य छन् भने पाठक पूर्वप्रदेश सचिव हुन् । अहिलेका दल नेता रावल भने पार्टीको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । थापा, मल्ल र रावलले ओली प्यानलबाटै उम्मेदवारी दिएका थिए ।