काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले सुदूरपश्चिम र कर्णालीको विकास तथा स्वास्थ्य सेवाको अवस्थालाई लिएर प्रश्न गरेका छन्। चुनावका बेला सुदूरपश्चिम र कर्णाली सम्झिने तर सत्तामा पुगेपछि दुर्गमका नागरिकको पीडा बिर्सिने राजनीतिक प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
सिंहले प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै सिंहदरबारका बन्द कोठामा बसेर देश सञ्चालन गर्नेहरूले सुदूरपश्चिम र कर्णालीमा पनि नेपाली नागरिक बस्छन् भन्ने कुरा बिर्सन नहुने बताएका छन्। ती क्षेत्रका नागरिकले पनि स्वास्थ्य, शिक्षा, विकास र सम्मानपूर्वक बाँच्न पाउने समान अधिकार राख्ने उनको भनाइ छ।
उनले सहरका सडकपेटिकामा वर्षमा दुईपटक मार्बल फेर्न सक्ने सरकारले कर्णालीका नागरिकलाई सिटामोलसम्म सहज रूपमा पुर्याउन नसक्नु गम्भीर विडम्बना भएको टिप्पणी गरेका छन्।
‘सहरका सडक र सौन्दर्यमा करोडौँ खर्च गर्ने सरकारलाई दुर्गमका अस्पतालमा डाक्टर, औषधि र बिरामी जाँच्ने मेसिनको व्यवस्था गर्न केले रोकिरहेको छ? समस्या स्रोतको हो कि नियतमै खोट छ?’ भन्दै सिंहले सरकारको विकास प्राथमिकतामाथि प्रश्न उठाएका छन्।
उनले विगत ३६ वर्षसम्म देशको नेतृत्व गरेका राजनीतिक शक्तिहरूले सुदूरपश्चिम र कर्णालीमाथि गरेको विभेदको पीडा अझै कायम रहेको उल्लेख गर्दै परिवर्तनको नारा दिएर सत्तामा पुगेको नयाँ नेतृत्वले पनि त्यही प्रवृत्ति दोहोर्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
सिंहका अनुसार दुर्गमका अस्पतालमा पर्याप्त चिकित्सक छैनन्, आवश्यक स्वास्थ्य उपकरण र औषधिको अभाव छ। सामान्य उपचारका लागि समेत नागरिकले सास्ती भोग्नुपर्ने अवस्था कायम रहनु राज्यको समान विकासको नारामाथि नै प्रश्न हो।




प्रतिक्रिया