विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगााउने सरकारी कदम निन्दनीय: घनश्याम


काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

आज माइतीघरमा पत्रकार सम्मेलन गर्दै भूसालले विद्यार्थी युनियन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारी कदमलाई निन्दनीय र अलोकतान्त्रिक भएकाे बताए ।

सरकारको सामार्थ्य र बहुमतको कदर गर्न आग्रह गर्दै नागरिकलाई त्रसित बनाउने कार्यशैलीले अन्ततः सरकारलाई नै असफल बनाउने उनकाे भनाइ छ ।

उनले भने, ‘नेपाली जनताले लोकतान्त्रिक स्थिरताका साथ समृद्धि चाहेका छन् । इतिहासमा बहुमतका सरकारहरू आए पनि जनअपेक्षा पूरा गर्न नसक्दा ती असफल भए । यो सरकारले पूर्ववर्ती सरकारहरूको असफलताको मूल्य राष्ट्रले तिर्नुपर्ने गरी काम नगरोस् ।’

उनले सुकुमवासीहरूको उचित व्यवस्थापन, भत्काइएका संरचनाको क्षतिपूर्ति र बालबालिका तथा वृद्धवृद्धाको उपचारको ग्यारेन्टी गर्न सरकारसँग माग गरे । विकल्पविहीन अवस्थामा कसैको पनि घर नभत्काउन उनले सरकारको ध्यानाकर्षण गराए ।