ओलीको सरकारी गाडी खोसियो


काठमाडौं, वैशाख २३ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सरकारी गाडी सरकारलाई फिर्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार ओलीले दोहोरो सुविधाको गाडी आज सरकारलाई फिर्ता गरेका हुन्।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत साधनमाथिको दोहन अन्त्य गर्न सरकारी सवारी प्रयोगमा कडाइ गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिन निर्देशन दिएको थियो ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ वैशाख १० गते सबै मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै प्रचलित कानुनले सवारी साधन उपलब्ध गराउनु नपर्ने तहका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेका सबै सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो।