इजरायली आक्रमणमा हमासका गाजा प्रमुखका छोरा घाइते, ५ जनाको मृत्यु


रफाह । इजरायली हवाई आक्रमणमा हमासका गाजा प्रमुख तथा वार्ताकार खालिल अल–हय्याका छोरा गम्भीर घाइते भएका छन् । बुधबार गाजापट्टीमा भएका विभिन्न आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको चिकित्सक र हमास स्रोतहरूले बताएका छन् ।

घाइते भएका अज्जाम अल–हय्या, खालिल अल–हय्याका छोरा हुन् । खालिल अल–हय्या हाल निर्वासनमा रहेका हमासका गाजा प्रमुख हुन । उनले गाजाको भविष्यबारे इजरायलसँग अप्रत्यक्ष वार्ताको नेतृत्व गरिरहेका छन् ।

स्रोतहरूका अनुसार गाजा सहरमा भएको आक्रमणमा अज्जाम घाइते भएका थिए भने अर्का एक व्यक्तिको मृत्यु भएको थियो । खालिल अल–हय्याले यसअघि पनि आफ्ना तीन छोरा गुमाइसकेका छन् । सन् २००८ र २०१४ मा गाजामा भएका युद्धका क्रममा उनका दुई छोरा मारिएका थिए भने तेस्रो छोरा गत वर्ष दोहामा हमास नेतृत्वलाई लक्षित गरिएको इजरायली कारबाहीमा मारिएका थिए ।

हमासका अधिकारी तथा खालिल अल–हय्याका सहयोगी ताहेर अल–नोनोले फेसबुकमा प्रतिक्रिया दिँदै अज्जाम माथिको आक्रमणलाई नैतिक र मानवीय पतनको चरम अवस्था भएको बताएका छन् ।

उनले बमबारी र हत्या गरेर वार्ताकारलाई झन् दृढ बनाउने दाबी गर्दै आफ्ना जनताको अधिकार र स्वतन्त्र इच्छाको पक्षमा अझ मजबुत भएर उभिने बताएका छन् । एजेन्सी