रुससँग सैन्य सहकार्य बढाउँदै उत्तर कोरिया


प्योङयाङ । उत्तर कोरियाले आफू कुनै पनि परमाणु अप्रसार सन्धिबाट बाध्य नहुने स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली राजदूत किम सोङले बाहि दबाबले आफ्नो देशको परमाणु शक्ति सम्पन्न राष्ट्रको हैसियत परिवर्तन गर्न नसक्ने समेत बताएका छन् ।

राजदूत किमको यो भनाइ उत्तरकोरियाली सरकारी सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक गरिएको हो । हाल संयुक्त राष्टसंङ्घको मुख्यालयमा भइरहेको परमाणु अप्रसार सन्धि (एनपीटी) पुनरावलोकन सम्मेलनमा अमेरिका लगायत देशहरूले उत्तर कोरियाको परमाणु कार्यक्रमको आलोचना गरिरहेका छन् ।

उत्तर कोरिया सन् २००३ मा एनपीटीबाट बाहिरिएको थियो । त्यसपछि उसले ६ वटा परमाणु परीक्षण गरिसकेको छ । जसका कारण संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले उमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । विश्लेषकहरूका अनुसार उत्तर कोरियासँग हाल दर्जनौं परमाणु वारहेड रहेका छन् ।

अमेरिका र उसका समर्थक देशहरूले उत्तर कोरियाको सार्वभौम अधिकारमाथि निराधार प्रश्न उठाइरहेको किम सोङको भनाइ छ । उत्तर कोरियाको परमाणु शक्ति सम्पन्न राष्ट्रको हैसियत बाह्य बयानबाजी वा एकपक्षीय चाहनाले परिवर्तन हुन नसक्ने पनि उनले बताए । उत्तर कोरिया कुनै पनि परिस्थितिमा परमाणु अप्रसार सन्धिबाट बाध्य नहुने उनले पुनः स्पष्ट पारेका छन् ।

उनका अनुसार उत्तर कोरियाको परमाणु राष्ट्रको हैसियत संविधानमै समावेश गरिएको छ र परमाणु हतियार प्रयोगसम्बन्धी सिद्धान्त पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ । उत्तर कोरियाले लामो समयदेखि आफ्नो परमाणु हतियार कार्यक्रम त्याग्ने सम्भावना अस्वीकार गर्दै यसलाई अपरिवर्तनीय मार्ग भनेर वर्णन गर्दै आएको छ ।

यसैबिच, उत्तर कोरियाले रुसलाई युक्रेनविरुद्धको युद्धमा सहयोग स्वरूप सैनिक र तोपखानाका गोला उपलब्ध गराएको बताइएको छ । यसको बदलामा उसले मस्कोबाट सैन्य प्रविधि सहयोग प्राप्त गरिरहेको हुनसक्ने विश्लेषकहरूको अनुमान छ ।एजेन्सी