नयाँ दिल्ली । भारत र पाकिस्तानबिच गत वर्ष भएको भीषण सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताएका छन् । उनले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गरेका छन् ।
गत वर्ष अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको घातक आक्रमणपछि दुई आणविक शक्तिसम्पन्न छिमेकी मुलुकबिच सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो । उक्त घटनामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू पर्यटक थिए । भारतले आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो, तर इस्लामावादले त्यसलाई अस्वीकार गरेको थियो ।
त्यस घटनापछि नयाँदिल्ली र इस्लामाबादबिच कूटनीतिक तनावका साथै प्रत्यक्ष सैन्य टकरावसमेत बढेको थियो । भारतले मे ७, २०२५ मा पाकिस्तानभित्र रहेका ‘आतङ्कवादी शिविर’ माथि लक्षित सैन्य कारबाही गरेको घोषणा गरेपछि अवस्था अझ विस्फोटक बनेको थियो । त्यसपछि दुवै देशबिच हवाई आक्रमण, ड्रोन आक्रमण तथा सीमावर्ती क्षेत्रमा भारी मोर्टार प्रहार भएका थिए ।
भारतीय सेनाले सञ्चालन गरेको उक्त कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । बिहीबार सो अभियानको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री मोदीले जारी गरेको वक्तव्यमा भारत आतङ्कवादविरुद्धको सङ्घर्षबाट पछि नहट्ने बताएका हुन् ।
‘आतङ्कवादलाई परास्त गर्ने र त्यसलाई सहयोग गर्ने सम्पूर्ण इकोसिस्टम ध्वस्त पार्ने हाम्रो सङ्कल्प अझै दृढ छ’ उनले भने । मोदीले पहलगाममा मारिएका निर्दोष नागरिकको स्मरण गर्दै आक्रमणकारीलाई ‘उचित जवाफ’ दिइएको उल्लेख गरे ।
मोदी सरकारले ‘सिन्दूर’ शब्दलाई विशेष प्रतीकका रूपमा प्रयोग गरेको थियो । हिन्दू महिलाले विवाहपछि कपालमा लगाउने रातो रङको सिन्दूरलाई सरकारले पहलगाम आक्रमणमा श्रीमान् गुमाएका महिलाहरूको पीडासँग जोड्दै प्रतिशोध र राष्ट्रिय भावनाको प्रतीक बनाएको थियो ।
प्रधानमन्त्री मोदीले भारतीय सेनाको प्रशंसा गर्दै राष्ट्रले सैनिकहरूको ‘साहस र वीरता’ लाई सम्मान गर्ने बताए । उनले देशको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याए ।
गत वर्षको चार दिने सैन्य तनावमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिएका थिए । पाकिस्तानले त्यस समयमा भारतीय वायुसेनाका पाँच लडाकू विमान खसालेको दाबी गरेको थियो । तीमध्ये तीनवटा अत्याधुनिक फ्रान्सेली राफेल विमान रहेको इस्लामाबादको भनाइ थियो । भारतले भने आफ्ना विमान क्षतिग्रस्त भएकोबारे कुनै औपचारिक पुष्टि गरेको छैन ।
दुवै देशबिच बढ्दो सैन्य तनाव अन्ततः मे १० मा युद्धविराममा पुगेर रोकिएको थियो । उक्त युद्धविरामबारे सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ नेटवर्कमार्फत घोषणा गरेका थिए । त्यसको केही समयपछि भारत र पाकिस्तान दुवैले युद्धविरामको पुष्टि गरेका थिए ।
यद्यपि भारतले त्यसयता युद्धविराम अमेरिकाको मध्यस्थतामा नभई इस्लामाबादसँग प्रत्यक्ष संवादमार्फत भएको दाबी गर्दै आएको छ । नयादिल्लीले काश्मीर र सुरक्षा सम्बन्धी विषयलाई दुई देशबीचको द्विपक्षीय मुद्दाका रूपमा मात्रै हेर्नुपर्ने अडान दोहोर्याउँदै आएको छ ।
एक वर्षपछि पनि भारत–पाकिस्तान सम्बन्ध सामान्य बन्न सकेको छैन । सीमापार आतङ्कवाद, काश्मीर विवाद र सैन्य अविश्वासका कारण दुवै देशबीच तनाव कायम रहेको विश्लेषकहरूको भनाइ छ । मोदीको पछिल्लो वक्तव्यले भारतले सुरक्षा र आतङ्कवादको मुद्दामा आफ्नो कठोर नीति परिवर्तन नगर्ने स्पष्ट सङ्केत दिएको मानिएको छ ।एजेन्सी




प्रतिक्रिया