१८ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका मिश्री भेटवार्तापछि आजै अपराह्न भारत फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणलाई केन्द्रमा राखेर मिश्री हिजो बिहान काठमाडौं आइपुगेका थिए। नेपाल आएलगत्तै उनी उच्चस्तरीय भेटघाटमा व्यस्त बनेका थिए।
भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
आज प्रधानमन्त्री शाहसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। उक्त भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तथा दुई देशबीचका आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
केही महिनाअघि प्रधानमन्त्री शाहसँग भेटघाटको समय मिल्न नसकेपछि मिश्रीले तय भइसकेको नेपाल भ्रमण स्थगित गरेको समाचार सार्वजनिक भएको थियो। त्यसैले यसपटकको उनको नेपाल भ्रमण र प्रधानमन्त्रीसँग हुन लागेको भेटलाई विशेष चासोका साथ हेरिएको छ।
दुवै देशका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो सातामा गराउने गरी तयारीमा जुटेका छन्। यही तयारीका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका थिए।
यसअघि कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार भेटघाटका क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए।




प्रतिक्रिया