कमल हसनले भने: ‘तमिलनाडुको जनादेशको अपमान नगर’


तमिलनाडु । अभिनेता तथा राज्यसभा सदस्य कमल हसनले तमिलगा वेत्री कडम (टीभीके) का अध्यक्ष विजयलाई सरकार बनाउन आमन्त्रण नगर्नु तमिलनाडुका जनताको निर्णयको अपमान हुने बताएका छन् । २३४ सदस्यीय तमिलनाडु विधानसभामा विजयको पार्टी टिभीकेले १०८ सिट जितेर ठुलो दल बनेको पृष्ठभूमिमा हसनको यस्तो टिप्पणी आएको हो।

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै हसनले संवैधानिक पदमा बसेका व्यक्तिहरूले आफ्नो कर्तव्य निभाउनुपर्ने र लोकतन्त्रको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्, ‘विजयको नेतृत्वमा टीभीकेले १०८ सिट जितेको छ, उनलाई सरकार बनाउन नबोलाउनु जनताको फैसलाको अपमान हो। २३३ निर्वाचित सदस्यहरूले अहिलेसम्म शपथ लिन नपाउनु राज्यकै अपमान हो, यसले लोकतन्त्रलाई ठुलो क्षति पुर्‍याउँछ।’

कमल हसनले सर्वोच्च अदालतको चर्चित एसआर बोम्मई मुद्दाको नजिर उल्लेख गर्दै बहुमतको परीक्षण राजभवनमा नभई विधानसभामा हुनुपर्ने बताएका छन्।  ‘म कुनै पार्टीको राजनीतिका बारेमा कुरा गरिरहेको छैन, यो एक भारतीय नागरिकको आवाज हो। तमिलनाडुका जनताले दिएको फैसलाको सम्मान हुनुपर्छ,’ उनले भनेका छन्।

तमिलनाडुमा बहुमतका लागि ११८ सिट आवश्यक पर्छ । १०८ सिट जितेको टिभीकेलाई भारतीय राष्ट्रिय कांग्रेसले आफ्ना ५ विधायकसहित समर्थन गर्ने निर्णय गरिसकेको छ । यसरी बहुमतको नजिक पुगेको दललाई सरकार गठन प्रक्रियामा अवरोध पुर्‍याउनु गलत भएको हसनको तर्क छ।

चुनावको नतिजा आएको लामो समय भइसक्दा पनि नयाँ सरकार गठनको प्रक्रिया अघि नबढेकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन्।एजेन्सी